आजको पुस्ता प्रविधिसँग नजिकिँदै जाँदा गुरु–शिष्य सम्बन्ध औपचारिकतामा सीमित हुँदै गएको गुनासो बेलाबेला सुनिन्छ। शिक्षकप्रतिको सम्मान, संस्कार र कृतज्ञता विस्तारै हराउँदै गएको चिन्ता पनि उत्तिकै छ। तर झापाको शिवसताक्षी–८ स्थित पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयले गुरु पूर्णिमाको अवसरमा आयोजना गरेको एक कार्यक्रमले भने यही चिन्ताबीच आशाको नयाँ सन्देश दिएको छ।
बुधबार विद्यालय परिसरमा देखिएको दृश्य सामान्य थिएन। नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरू आफ्ना गुरुहरूको स्वागतमा फूलमाला, अबिर र दोसल्ला लिएर उभिएका थिए। गुरुहरूलाई सम्मानपूर्वक आसनमा बसालेर उनीहरूको चरणमा श्रद्धा अर्पण गर्ने विद्यार्थीहरूको अनुहारमा देखिएको सम्मान र कृतज्ञताले उपस्थित अभिभावक तथा अतिथिलाई भावुक बनाएको थियो।
विद्यालयका चार सदन—संकल्प, ज्ञान, शान्ति र सेवा—का विद्यार्थीहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमले गुरु पूर्णिमा एउटा पर्व नभई गुरुबाट प्राप्त ज्ञान, संस्कार र जीवनमूल्यप्रति आभार व्यक्त गर्ने अवसर भएको सन्देश दिएको छ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद खनालले गुरुले सिकाएको ज्ञान, सीप र व्यवहारले नै मानिसको भविष्य निर्माण गर्ने बताए। “गुरुले चोर्न सिकाए शिष्य चोर बन्छ, गुरुले सत्य, अनुशासन र असल कर्म सिकाए समाजले असल नागरिक पाउँछ। त्यसैले गुरुका वचन, कर्म र सीप नै भविष्यका बाटा हुन्,” उनले भने।
योगगुरु जङ्गी बाबाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार विनोद सापकोटा, विद्यार्थी गरिमा गौतम, आरुसी खरेल, निशाहाङ लिम्बु र विनिशा भण्डारीले गुरुको महत्त्वमाथि आफ्ना विचार व्यक्त गरेका थिए। विद्यालयकी छात्रा आकृति खनालले संस्कृत भाषामै अतिथि, अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्बोधन गर्दै गुरुको महिमाबारे व्याख्या गरेकी थिइन्।
कार्यक्रमको अर्को आकर्षण थियो—विद्यार्थीहरूको संस्कृतप्रतिको दक्षता। अधिकांश विद्यार्थीले संस्कृत श्लोक, गुरुवन्दना र वैदिक मन्त्र उच्चारण गर्दै गुरुको महिमा गाएका थिए। आधुनिक शिक्षासँगै पूर्वीय संस्कृतिको अभ्यास गराइरहेको विद्यालयको शिक्षण पद्धतिले धेरैको ध्यान खिच्यो।
कार्यक्रममा हालै सवारी दुर्घटनामा निधन भएका राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। प्रधानाध्यापक खनालले स्वर्गीय शेर्माको शैक्षिक योगदान स्मरण गर्दै उनको जीवनबाट प्रेरणा लिन विद्यार्थीलाई आग्रह गरेका थिए।
शिक्षक पदम पाठक र विद्यार्थी तनुजा खतिवडाले सञ्चालन गरेको कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता थियो। धेरै अभिभावकले आफ्ना सन्तानले गुरुको सम्मान गरेको दृश्यले आफूहरू गर्वित भएको प्रतिक्रिया दिएका थिए।
पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयले हरेक वर्ष गुरु पूर्णिमामा यस्ता संस्कारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयमा पाठ्यपुस्तकको ज्ञानसँगै आचरण, नैतिक शिक्षा, व्यावहारिक जीवनकौशल र पूर्वीय संस्कृतिलाई समान प्राथमिकता दिइने भएकाले विद्यार्थीहरू संस्कृत श्लोक, गुरुवन्दना तथा सामाजिक व्यवहारमा पनि अब्बल बन्दै गएका छन्।
शैक्षिक प्रतिस्पर्धा, परीक्षा र नतिजाको होडबीच गुरु–शिष्य सम्बन्धलाई सम्मान र संस्कारसँग जोड्ने यस्तो अभ्यास अहिलेका विद्यालय शिक्षाका लागि अनुकरणीय बनेको शिक्षाविद्हरू बताउँछन्। शिक्षाले दक्ष जनशक्ति मात्र होइन, असल नागरिक पनि उत्पादन गर्नुपर्छ भन्ने सन्देश पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयले गुरु पूर्णिमाको यो कार्यक्रममार्फत व्यवहारमै उतारेको अभिभावक परशुराम ढुङ्गानाले बताए ।
उनले भने,’गुरु पूर्णिमामा गरिएको यो कार्यक्रम एउटा विद्यालयको वार्षिक औपचारिकता मात्र होइन, सम्मान, संस्कार, नैतिकता र जीवनमूल्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सशक्त शैक्षिक अभियानका रूपमा स्थापित भएको छ। नगरभरि यसको सकारात्मक चर्चा हुनुको कारण पनि यही हो।’ cc@purwanchaldaily











